किराँत समूदायको ठुलो चाड उधौली पर्व मनाइदै

मंसिर १७ – आज किराँत समूदायको ठुलो चाड उधौली पर्व मनाइदैछ । प्रकृति र पितृको पूजा गरि किराँत समूदायले आफूले लगाएको अन्नबाली पाकेपछी आफ्नो कुल देवतालाई चढाएपछि मात्र खाने दिनलाई चाडका रुपमा मनाउन गर्दछन् ।

परम्परा अनुसार २ दिन अघि लिम्बुले चासोक तग्नाम पर्व मनाउने गर्छन् भने याख्खाले चासुवा, सुनुवारले खोल स्यादर र राईले उधौली साकेला भनेर आज संयुक्तरुपमा मनाउने गरिन्छ । किराँत राईको मुख्य पर्व साकेला उभौली बैशाख पूर्णिमाको दिन र उधौली मंसिर पूर्णिमाको दिन मनाइन्छ । यस पर्वको मेलामा सबै उमेरका मानिसहरु आपसमा गोलो घेरा बनाएर नाच्ने गर्दछन् ।

सरकारले आज सार्वजनिक विदा पनि दिएको छ । चुनावी क्षेत्रमा रहेका बैंकहरु भने आज खुला रहनेछन् ।

यस्तै आज ज्यापु दिवस तथा य.मरि पुन्हिमनाइदैछ । काठमाडौँ उपत्यकाभित्र र बाहिरसमेत नेवारी समुदायले आज विषेश चाडका रुपमा मनाउँदै छन् । हरेक धान्य पूर्णिमाका दिन मनाइने राष्ट्रिय ज्यापू दिवसको अवसरमा योमरीलाई विशेष परिकारका रुपमा लिइन्छ । य.मरि पुन्हिका रुपमा स्थापित धान्य पूर्णिमा नेवारी समुदायको एक प्रमुख चाड हो । यसलाई न्वागीका रुपमा लिन सकिन्छ । यस अवसरमा ज्यापू महागुठीले विभिन्न उत्सव, गुठी तथा पूजाआजा गर्ने परम्परा छ । उत्सवमा धानको कोठी, भकारी राखी पूजा गरेर योमरी चढाउने र त्यसलाई प्रसादका रुपमा खाने÷ख्वाउने चलन छ ।

आफ्नो प्रतिक्रिया व्यक्त गर्नुहोस